» मुख्य समाचार »

प्रकृतिको सुन्दर धरोहर – इलाम

छोटो परिचय
प्रकृतीको बेजोड सौर्न्दयलाइ जुन दिन सृष्टिले रच्यो त्यसको बिसाउनी भने आजको बादल भित्रको हरियाली गाँउ इलाम बनेको छ । घुम्टो भित्र सिंगारिएकी बेहुली जस्तै हरियाली भित्र इलाम सिंगारीएका छन । प्रकृतीको काखमा रमाउँनेहरुका लागि त इलाम आज बालकका लागि आमा जत्तिकै प्यारी छिन । उत्तिस, बाँस, घाँस नमूनाहरुले इलामको महिमालाई उच्च बनाएका छन। देशभित्र र बाहिरबाट आउने कैयौं पर्यटकहरुलाई इलामको हरियालीले साँच्चै मन्त्र मुग्ध तुल्याएका छन । प्रकृतीले गरेको यो स्वागतबाट प्रभावित भएर होला देश विदेशमा समेत आज आएर इलामको प्रतिविम्वित सजिएको छ । यसका साथै र्सूयो‌‌दय र र्सूयास्तका अद्वितीय दृश्यहरु, हिमाली श्रृंखला तथा विश्व प्रसिद्ध कञ्चनजंघाको दृश्यावलोक श्रीअन्तु, सिद्धिथुम्का, सन्तपुर, छिन्तापु कन्याम जस्ता डाँडाहरुबाट हुन्छ । यहाँका चारमाई नदी नाला, छाँगा-छहरा, खोला साथै चाँप, गुँरास फुल्ने लेकहरुले नव दुलहीलाई लोकन्तीहरुले साथ दिएझैं इलामलाई साथ दिएका छन । टोड्के झर्नाको आनन्दमा रमाउनेहरु इलामेहरुका लागि मात्र नभएर दुनिँयाको लागि अमुल्य उपहार हुन। यहाँको मुख्य पर्यटकीय स्थलहरुमा श्रीअन्तु, सिद्धिथुम्का, चुलाचुली, माईपोखरी, सन्तपुर, कन्याम, हाँगेथाम, माबुथाम, गजुरमुखी करफोक आदि रहेका छन। पहाडकी रानी उपनाम पनि इलामको लागि सुहाउँदो छ । किनकि हरियालीमा रमाएको र सौर्न्दयले सजेको यस्तो पहाडी जिल्ला इलामको विकल्पमा देख्न सकिन्न । साथै युगहरु छिचोलेर समय भन्दा पनि अगाडी बढ्न सफल इलाम नेपाल कै एक महत्वर्पूण आत्मनिर्भर जिल्ला बन्न पुगेको छ । जसमा यहाँको नगदे बालीले यहाँको जनजीवनको आर्थिक टेवामा ठूलो सघाउ पुर्‍याएको छ । अन्धकारलाई परास्त गरी उज्यालोको संसारमा जिउन सफल इलामले यातायात तथा विद्युत उत्पादनमा पाएको थोर बहुत सफलता पनि एउटा वहुमुल्य पक्ष हो ।

सन्तपुर
इलाम जिल्लाको उत्तरी क्षेत्र नेपाल- भारत सीमा संगै समुद्र सतहदेखि १२०७२ फिट उचाइमा रहेको सन्तपुर साधु, सन्त, महन्त जम्मा भएर बस्ने ठाउँ डाँडा पवित्र कनकाई माईको उदगम स्थल हो । विश्व प्रसिद्ध तेस्रो हिमालय पर्वत कन्चनजंघा र त्यो वरपरका कुम्भकर्ण् सहित अनेकौं हिमच्छादित पर्वतमालाको मनमोहक दृष्य त्यहाँबाट हेर्न सकिन्छ । यहाँबाट पूर्वमा दार्जिलिङ सहर र सिक्किमदेखि भुटान सम्मका पहाड पर्वत, यताका माल मधेस र अनेकौं नदीनाला, वनजंगलको साथै मेची र कोशी अञ्चलका जिल्लाहरु हत्केला राखेर हेरे झैं देख्न सकिन्छ ।
हिमाली प्राकृतिक सौर्न्दयलाई देख्दा छोउँ छोउँ लाग्छ । यहाँबाट कार्तिक मंसिर महिनामा सूर्योदय तथा सूयार्स्तको विचित्र दृश्य देख्न सकिन्छ । अव त्यहाँ पुग्नलाई नेपाल सीमा मानेभञ्ज्याङ भएर गइरहनु पर्दैन । यतैबाट माइपोखरी सम्म बस सुबिधा उपलब्ध छ । त्यसपछि खोर्सानेटार माइमजुवासम्म जीप ल्याण्डरोभरको दैनिक सेवाको व्यवस्था गरिएको छ । त्यहाँ देखि तीन घण्टाको पैदल चढाइबाट सन्तपुर डाँडामा पुग्न सकिन्छ ।
त्यहाँ भारतीय भूमिमा गेष्टहाउस, संचार, प्रहरीसेवा आदि रहेका छन । यता माइपोखरी हुँदै जाँदा जाडो महिनामा कहिले काहीँ हीमपातको समेत आनन्द मिल्छ । यस जिल्लाको सन्तपुर, छिन्तापु, तुम्लिङ, जौवारी, रक्से आदि डाँडाहरुमा जाडो महिनामा हिउँ पर्ने गर्दछ । त्यहाँ अनेकौं खोला, खोल्सी, लहरा, पहरा र छहराले समेटिएको एउटा सानो गाँउ छ । जसलाई माइमजुवा भन्दछन । प्रकृतिको काखमा रमाउनेहरुको लागि त्यो ठाउँ अति आर्कषक मानिन्छ ।
त्यस क्षेत्रको लेकाली ओसिलो झ्याउ टाँसिएको जंगलमा लाली गुँरास, चाँप, धुपीसल्ला, बज्राठ, चिमालो तथा मालिङ्गो, असारे, झिगानो, अनान्य घाँस पात लहराले ढाकेको पाइन्छ । तर यहाँ रानी चाँप र सेतो गुराँस भने नुर्लभ भइसकेका छन । यहाँ पाँच औंले सेतो विखमा, चिरौतो, पाखणभेद जस्ता प्राकृतिक जडिबुटीहरु पाइन्छन । जंगलमा बाघ, भालु, चितुवा, घोरल, झारल, थार, मृगजस्ता वन्य जन्तुहरु रहेका छन भने पंक्षिहरु डाँफे, मुनाल, कालिज, वनकुखुरा आदि पाईन्छन । तर आज वन मासिदैं जानुको कारणले यी जनावर, पंक्षिहरु लोप हुँदै गइरहेका छन । यो द्रुत गतिको जंगल फडानी, डढेलो, गौचरण, घाँसपात दाउरा, काठ चिरान जस्ता कार्यबाट त्यस्ता वनस्पति दुर्लभ हुने स्थिती छ । आज झापा जिल्लासंगै जोडिएको सीमातर्फ वन क्षेत्र भने अतिक्रमण भइरहेको छ । उहिल्यै यहाँ संजीवनी बुटी पनि पाइन्थे रे । हामीले पढेका छौं सुनेका छौं । त्यस्तै यहाँका चाँप, बज्राठ तथा चिरैतो विखमा, पाँचऔंले, पाषणभेद जस्ता रुखपात जडिबुटी नेपालको जंगलमा विसौं शताब्दीसम्म पाइन्थ्यो भनेर भविष्यका कुनै अज्ञात शताब्दीमा हाम्रा नेपाली सन्ततीले वनस्पति विज्ञानबारे किताबमा नाम मात्र पढे भने यहाँ अचम्म मान्नु पर्ने कुनै कारण छैन ।

छिन्तापु
यो इलाम जिल्लाको दोस्रो अग्लो डाँडा हो । यो डाँडा समुद्र सतहबाट करीव ११ हजार फिटको उचाइमा रहहेको छ । यो डाँडामा चट्टानी, पहरा, ओढारहरु रहेका छन । यहाँको रमिते डाँडाबाट कञ्चलनजंघा त्यो पश्चिमका हीम शिखरमाला साथै तमोर, कावेली नदीमा हिमालयबाट खस्दै गरेका अनेकों छहराहरु ओलाङचुङ्गोला, घुँसा, पाथिभरा, मानाभरा तथा अनेकौं डाँडाहरुसँगै मेची कोशी अञ्चलका जिल्लाहरुको भू-भाग देख्न सकिन्छ ।

सिद्धिथुम्का
जिल्लाको मुख्य डाँडाहरु मध्ये यो पनि एक हो । यो इलाम बजारदेखि पश्चिमी क्षेत्रमा पर्छ ।
प्रकृतीको संरचनामा यो डाँडा माथि टावरको रुपमा एउटा विशाल अग्लो ढुङ्गा रहेको छ । त्यहाँ चढेर र्हेदा सूर्योदय तथा सुयार्स्तको अत्यन्तै मनमोहक तथा विचित्र दृश्य देखिन्छ । यो डाँडा झण्डै ६ हजार फिटको उचाइमा रहेको छ । सूर्योदय हुने बेलामा टावरको रुपमा रहेको त्यो ढुंगा वरिपरि भँमराहरु आइ भुनभुनाउछन ।

श्रीअन्तु
जिल्लाको पूर्वी सिमानामा रहेको यो डाँडाको उचाइ समुद्र सतहबाट ५४ सय फिटमा रहेको छ । यहाँ एउटा टावर रहेको छ । यहाँबाट सूर्योदय भएको देखिन्छ । अगाडी पूर्व पट्टी भारत दार्जीलिङ सिंचेल डाँडा होचिँदै दक्षिण तर्फ लागेको पहाडको काखमा खर्साङ्ग सहर, गिद्धेको पहरो, सुकुनाको जंगल र संपूर्ण भाग सुर्य दक्षिणायन भएको बेलामा असोज, कार्तिक महिना को खुला दिनको बिहानी पख यस्तो मनमोहक विचित्र दृश्य देखन सकिन्छ । उक्त दृश्य आफ्नै मनभिबको कल्पनाको तरंग संगै भर पर्ने हुँदा एक अर्काको दृष्टिमा फरक पर्न जाने हुन्छ ।
उत्तरमा गगनचुम्बी कञ्चनजंघा, अगाडी र्पूवमा भारतको खर्साङ्ग, सिलगुढी जस्ता मैदानी बजारहरुको विजुलीको चमक, मिरिक, ओकाइटी सौरनीको चियाबारीको दृश्यावलोकनसंगै क्षितिज लालीमय भएर बढदै जान्छ । आकाशमा कतै बादलको टुक्रा भए त्यहाँ अनेक रंगिविरंगी दृश्य देख्न सकिन्छ । श्रीअन्तु डाँडामा सूर्योदय हुने बेलामा एक किसिमको अति जगमगाँउदो एउटा मोटरको दाना जत्रो सूर्योदय हुन्छ । यसै बेला अनेकले कोक्रोमा नानी खेल्दै गरे जस्तो, फक्रेको च्याउ जस्तो, रथ दौडिँदै गरे जस्तो अनेक रुप, रंग, आकारको दृश्य झण्डै सात मिनेटसम्म देख्न सकिन्छ

माइ पोखरी
इलाम बजारबाट १३ कि.मि. उत्तरमा रहेका अन्दाजी साँढे ६ हजार फिट उचाइमा यो पोखरी अवस्थित छ । १८८ हेक्टर जमीनमा फैलिएको ८७५० मिटर व्यास भएको तथा जलमग्न नौ कुना रहेको यो पोखरीको जलराशिको गहिराइ ३ मिटर देखि ८ मिटरसम्म रहेको थाहा भएको छ । कुनै समयको खडेरीमा आधा भन्दा पनि बढि पानी सुकेर जाने गरेको पनि पाइएको छ। पोखरीमा रंगी चंगी माछाहरु प्रशस्त छन । यो पोखरी शिव पार्वतीको क्रिडा स्थलको रुपमा रहेको मानिन्छ । हाँसको रुपबाट शिव- पार्वती त्यहाँ आउने गरेको कथन छ ।
यहाँ कार्तिक एकादशी हरिबोधनीका दिन मेला लाग्ने गर्दछ । स्वामी सोमेश्वरानन्दले यहाँ एउटा संस्कृत पाठशाला १९५६ तिर खुलाएर पठन- पाठन गुरुकुलको जस्तै थियो भन्ने भनाइ छ ।

माइवेनीको इतिहास
चार माईको अंगालोमा बाँधिएको इलाममा लाग्ने माईवेनी मेलाको आफ्नै महत्व र इतिहास छ । हिन्दु धर्म-संस्कृति अनुसार माघे संक्रान्तिमा मकर स्नान गर्नाले एक कल्प सम्म तप गरेको पुण्य मिल्छ भन्ने विश्वास छ । त्यसैले प्रत्येक माघे संक्रान्तिमा पवित्र स्थलमा गई स्नान गरेर पुन्य कमाउने चलन सबैतिर चलेको छ । इलाम जिल्लाको हकमा सदरमुकाम इलामबजारबाट दक्षिण - र्पूवमा माई र जोगमाईको दोभान माइवेनीमा भव्य मेलाका साथ हजारौंको वलि चढाएर र सयौं जोडी परेवा उडाएर मकर नुहाई माघे संक्रान्ति मनाइन्छ । तर यहाँ कहिलेदेखि यो मेला प्रारम्भ भयो र यसअघि के गरिन्थ्यो भन्ने एउटा खोजको विषय हो । त्यसैले यहाँ यही कुरालाई बढी महत्व दिइएको छ ।
बुढा- पाकाहरुका कथाहरु सुन्दा माइवेनीमा मकर नुहाइनु भन्दा अगाडि यही माइको झापाको सुरुङ्गास्थित माइधारमा मकर नुहाउने प्रचलन थियो । त्यहाँ सम्म पुग्न नसक्नेहरु घर तिरै धारामा , खोला- खोलामा नुहाएर भए पनि मकरको पुन्य कमाउने गर्थे । जब गजराजसिंह थापा इलाममा बडाहाकिम भई आए, उनीसंगै श्रीमती बदनकुमारी थापा -राणा प्र।म। जंगबहादरकी छोरी) पनि इलाम गौंडामा आएकी थिइन । काठमाडौंमा धार्मिक मूल्य र मान्यतामा र्हुकिएकी बदनकुमारी इलाममा मकर नुहाउन नपाई श्रीमानसंग गुनासो गर्न थाले पछि उनलाई सो अवसर जुटाइदिने सुरमा बडाहाकिम थापाले माई र जोगमाईको दोभानमा वि।सं १९२०र२१ तिरबाट यो मेलाको सुरुवात गराएका हुन । बेनीमा मेला लाग्ने भन्ने भएपछि सदरमुकाम र वरपर सबैतिर मेलामा जान भनी सबैलाई भन्र्दै गरियो । फलस्वरुप प्रथम वर्षको मेला सफलतापूर्वक सम्पन्न भयो ।
माइवेनीमा मेला लाग्न थालेपछि पाँचथर, ताप्लेजुङ्ग, भोजपुर, दार्जिलिङ्ग लगायतका ठाँउबाट पनि मकर नुहाउन आउनेहरुको भीड लाग्न थाल्यो । भनिनछ ताप्लेजुङ्ग - पाँचथरबाट मेला शुरु हुनु पूर्व नै मानिसहरु आई पाल बनाएर बस्ने गर्थे र मेला सकिएको ५-७ दिनपछि मात्र उठेर जाने गर्थे । यसरी मकर संक्रान्तिको महिमाबाट शुरु भएको माइवेनी मेला पछि -पछि एक महिनासम्म पनि लाग्ने भएको थियो । पछि घटाएर १५ दिन, ७ दिन गर्दै हाल ३ दिन लाग्ने गरेको छ ।
यसरी वडाहाकिम थापाले शुरु गराएको माइवेनी मेला पछि वडाहाकिम राजसमसेरले व्यापक बनाएका थिए। आफ्नो धर्म संस्कृति प्रतिबद्ध यी लब्ध पुरुषहरुले शुरु गरेको पुन्य कार्य आजसम्म पनि प्रचलन कै रुपमा रहिरहेको छ । हरेक वर्ष माइवेनीमा स्वदेशी र विदेशी गरी हजारौं श्रद्धालु भक्तजनहरुको घुँइचो आजसम्म पनि टुटेको छैन । माइवेनीले आज आफ्नो परम्परा मात्र थामेको छैन इलामको पर्यटन प्रवर्द्धनमा समेत उल्लेख्य सहयोग पुर्‍याएको छ ।



0 comments:

Post a Comment

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

मेरो आफ्नै सानो संसार